सेडिडद्वारा नेपाल-इजराइल सम्बन्धबारे कार्यक्रम आयोजना

काठमाडौं, चैत ५ नेपालमा परम्परागत ढङ्गले गरिदै आएको कूटनीतिक अभ्यासलाई नयाँ ढङ्गले परिभाषित गर्ने र बदलिदो विश्व राजनीतिक मञ्चमा नेपालको उपस्थिति कूटनीतिक माध्यमबाट अझ सशक्त बनाउँदै जाने उद्देश्यले ‘Centre for Diplomatic Dialogue’ नामक संस्थाले ट्रयाक टु डिप्लोमेसीका विभिन्न क्षेत्रमा काम शुरु गरेको छ।
बिहीबार राजधानी काठमाडौंमा पहिलो कार्यक्रम गर्दै (सेडिड) संस्थाका अध्यक्ष डा. शम्भु पोखरेलले संस्थालाई नेपालको ट्रयाक टु डिप्लोमेसीको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गरिने बताउनुभयो । राज्य-राज्यका तहबाट गरिने औपचारिक कूटनीतिकका अतिरिक्त जनता-जनता र अन्य निजीस्तरका संस्थागत स्तरबाट गरिने औपचारिक एवं अनौपचारिक कूटनीतिक गतिविधि नै ट्रयाक टु डिप्लोमेसी हो । पछिल्लो समय यस्ता गतिविधिले राज्य-राज्य बीचको सम्बन्ध र जनता-जनता बीचको सम्बन्धमा थप हार्दिकता थपेको पाइन्छ ।
नेपाल ईजरायल दौत्य सम्बन्धको ६०औं बर्षगाठको अवसरमा आयोजित ‘सिक्स डिकेडस् अफ नेपाल ईजरायल रिलेसन’ विषयक सेमिनारमा अध्यक्ष डा. पोखरेलले त्यस्तो बताएउनु भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले अबको २ बर्षभित्र सेडिडका शाखाहरू २० देशमा स्थापना हुने र अन्तरराष्ट्रिय तहमा समेत कूटनीतिको ट्रयाक टु लिड गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल इजरायल सम्बन्ध र नेपालको कूटनीतिक अवस्थाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा विशेष अतिथि नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले नेपाल र ईजरायल बीच द्विपक्षीय र बहुपक्षीय चासोका क्षेत्रमा एकै प्रकारको सहकार्य हुनुपर्ने बताउँनुभयो ।
त्यसैगरी संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व राजदूत कूटनीतिज्ञ डा. जयराज आचार्यले नेपालको कूटनीतिक विषयमा स्पष्टता रहँदै आएको र आगामी दिनमा बदलिदो परिस्थितिमा अझ चनाखो राष्ट्रिय हितलाई केन्द्रमा राखी कूटनीतिक अभ्यास विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी सार्कका लागी पूर्व महासचिव अर्जुनबहादुर थापाले नेपालले आफ्ना दौत्य सम्बन्ध रहेका मुलुकहरूसँग विशेष व्यवहार गर्नुपर्ने बताउँनु भयो ।
नेपाल कूटनीतिक क्षेत्रमा कमजोर देखिदै आएको नेपाली नेताहरूकै विश्लेषण रहेका बेला नेपालबाट अर्थकूटनीतिक गतिविधिलाई थप प्रभावकारीरूपले सञ्चालन गर्दै विश्वबजारमा अगाडि बढ्ने सोचका साथ नयाँ कूटनीतिक संस्था सेडिडको स्थापना भएको हो । यसलाई सही ढंगले प्रयोग गर्न सके नेपालको कूटनीतिक शाख, शक्ति र छवि विश्वबजारमा थप उच्च हुन सक्ने देखिन्छ ।
Recent Comments